बेलायतमा रहेका नेपाली समुदायबीच बास्केटबल खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यसहित पाँचौं संस्करणको ‘ए स्टार नेपाल बास्केटबल लिग २०२६’ आगामी मार्च १५ देखि सुरु हुने भएको छ ।
प्रतियोगिता नेपाल बास्केटबल यूकेको आयोजनामा तथा ए स्टार फाइनान्सियल सलुशन्सको सहकार्यमा सञ्चालन हुन लागेको हो ।
आयोजकका अनुसार प्रतियोगिता जुलाई ४ सम्म सञ्चालन हुनेछ। यस वर्ष लिगलाई अझ समावेशी र व्यापक बनाउने लक्ष्यसहित आयोजना गरिएको हो । यस पटकको प्रतियोगितामा कुल १४ टोली सहभागी हुनेछन्, जसमा पुरुषतर्फ ११ टोली र महिलातर्फ ३ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
पुरुषतर्फ प्रत्येक टोलीले १० लिग खेल खेल्नेछन् । लिग चरणपछि उत्कृष्ट आठ टोली नकआउट चरण (क्वार्टरफाइनल) मा प्रवेश गर्नेछन् । महिलातर्फ भने ‘होम एन्ड अवे’ प्रणाली अनुसार प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् र त्यसपछि सिधै फाइनल खेल आयोजना गरिनेछ ।
लिग चरणका खेलहरू फेल्थाम स्प्रिङवेस्ट एकेडेमी र एल्डरशट ग्यारिसनमा सञ्चालन हुनेछन् भने प्रतियोगिताको फाइनल खेल ब्रुनेल विश्वविद्यालयमा आयोजना गरिनेछ ।
नेपाल बास्केटबल यूकेका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य बेलायतस्थित नेपाली युवाहरूको प्रतिभा प्रस्फुटन गराउनुका साथै समुदायबीच आपसी एकता र सम्बन्ध सुदृढ बनाउनु हो । युवाहरूको उत्साह र सहभागिताका कारण यो प्रतियोगिता वर्षेनी झनै लोकप्रिय बन्दै गएको पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको टाइटल स्पोन्सर ए–स्टार फाइनान्स एन्ड सलुशन्स रहेको छ । यसका साथै बीएसके इन्टरटेन्मेन्ट, गुरखा कन्स्ट्रक्सन, नमस्ते गुरखा, नेपाल फुड्स, अनुग्रह बुलियन ज्वेलरी तथा आरडब्लु रूफिङ एन्ड प्रोपर्टी सर्भिसेस लिमिटेडले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।
लिगको विजेता टोलीलाई १२०० पाउन्ड नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताले बेलायतमा रहेका नेपाली खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदमार्फत नेपाली समुदायबीच एकता, उत्साह र आपसी सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।
