रामधुनी (सुनसरी) । आर. एफ. सी., धरान, सुनसरी तेस्रो पंचायन गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बेतना युनाईटेड, बेलबारी, मोरङलाई २–० गोलले हराउँदै आर. एफ. सी. ले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
आर. एफ. सी. को जितमा विनोद राई र कृष्ण राईले समान १-१ गोल गरे । खेलको पहिलो हाफको छैटौं मिनेटमा विनोद राईले गोल गर्दै आर. एफ. सी. लाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० को अग्रता बनाएको आर. एफ. सी. ले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको दोस्रो हाफको २७औं मिनेटमा कृष्ण राईले अर्को गोल थपे ।
खेलको म्यान अफ दि म्याच आर. एफ. सी. का कृष्ण राई घोषित भए । उनले नगद ३ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो प्रिक्वाटरफाइनल खेल न्यु स्टार क्लब, बराहक्षेत्र, सुनसरी र तालतलैया एफसी, इटहरी, सुनसरीबीच प्रतिस्पर्धा हुनेछ ।
पंचायन फुटबल क्लब, रामधुनी, पंचायन, सुनसरीको आयोजनामा शुरु भएको प्रतियोगितामा कुल १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ३१ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले ८१ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
