इटहरी । संखुवासभाको लोहोरुङ्ग फुटबल क्लब इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलमा चुत्तन स्र्पोटिङ क्लब तेह्रथुमलाई ३–२ गोल अन्तरले पराजित गर्दै लोहोरुङ्गले अन्तिम चारमा स्थान बनाएको हो ।
खेलमा अग्रता भने चुत्तनले लिएको थियो । चुत्तनका लागि सन्तोस लिम्बुले पहिलो हाफमा अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा लोहोरुङ्गले उत्कृष्ट पुनरागमन गर्यो । लोहोरुङ्गले दोस्रो हाफको १६ मिनेट भित्र लगातार तीन गोल गर्यो ।
लोहोरुङ्गका लागि दोस्रो हाफमा पहिलो गोल अमित गजमेर, दोस्रो गोल मिलन लिम्बु र बिनोद राईले तेस्रो गोल गरे । सन्तोस लिम्बुले निर्धारित समय सकिनु ७ मिनेटअघि ब्यक्तिगत दोस्रो गोल गरेपनि चुत्तनको हार टार्न सकेनन् ।
खेलको म्यान अफ दि म्याच लोहोरुङ्गका बिबेक राई घोषित भए । उनले नगद ५ हजार ५ सय रुपैयाँसहित मेडल प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल आयोजक द योङ ब्रदर्श क्लब इटहरी सुनसरी र कञ्चनजंगा फुटबल क्लब सिलिगुढी भारतबीच हुने आयोजकले जनाएको छ ।
