इटहरी । बसाहा क्लब उदयपुर अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बिहिवार भएको अन्तिम सेमिफाइनलमा आयोजक द योङ बदर्श इटहरी सुनसरीलाई १-० गोलले स्तब्ध बनाउँदै बसाहा उपाधि नजिक पुगेको हो ।
बसाहाको जितमा रितेश तामाङले ४९औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच पनि रितेशनै भए । उनले नगद पाँच हजार पाँच सय रुपैयाँसहित मेडल प्राप्त गरे ।

अब शनिबार हुने फाइनलमा बसाहाले लोहोरुङ्ग फुटबल क्लब संखुवासभासँग प्रतिस्पर्धा गर्नेछ ।
द योङ ब्रदर्श क्लब इटहरी सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद चार लाख चार हजार रुपैयाँ नगद प्रदान गरिने भएको छ । यस्तै, उपविजेता टिमलाई दुई लाख दुई हजार दुई सयमा चित्त बुझाउनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई नगद रकम प्रदान गरिने आयोजकले जनाएको छ ।
