तरहरा (सुनसरी ) । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीको आयोजनामा जारी १२औं हिसान स्पोर्ट्स मिट अन्तर्गत फुटबल खेलमा सोमबार धरान सेकेण्डरी स्कुल, विश्व आदर्श स्कुल र धरान आदर्श कलेज विजयी भएका छन् ।
पहिलो खेलमा धरान सेकेण्डरी स्कुलले बिष्णु मेमोरियल स्कुललाई ३-० ले हरायो । धरानको जितमा नानु हाङ राई, कृष्ण खत्री र बिपन मगरले १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच धरानका रोहन राई घोषित भए । उनले नगद एक हजारसहित मेडल प्राप्त गरे ।
दोस्रो खेलमा विश्व आदर्श स्कुलले सिबी स्कुललाई १-० गोलले निराश बनायो । विश्व आदर्शलाई जित दिलाउन साजन कार्कीले निर्णायक गोल गरे । साजन नै खेलको अफ दि म्याच चुनिए । उनले पनि नगद एक हजारसहित मेडल प्राप्त गरे ।
तेस्रो खेलमा धरान आदर्श कलेजले नास्ट कलेजलाई १-० ले स्तब्ध बनायो । धरान आदर्शको जितम एक मात्र निर्णायक गोल प्रतिक कटुवालले गरे । खेलको म्यान अफ दि म्याच धरान आदर्शका रोशन राई भए । उनले पनि नगद एक हजारसहित मेडल प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत मंगलबार पनि तीन खेल हुनेछन् । पहिलो खेल नमुना कलेज र कोशी कलेज, दोस्रो खेल पिस जोन स्कुल र कस्तुरी स्कुल तथा तेस्रो खेल स्मल हेभन कलेज र प्रिमियर कलेजबीच हुनेछ ।
