काठमाडौं । दोस्रो महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगितामा बुधबार भएका खेलहरूमा सुदूरपश्चिम र गण्डकी प्रदेशले प्रभावशाली प्रदर्शन गरेका छन् । पुरुषतर्फ सुदूरपश्चिमले मधेस प्रदेशलाई स्पष्ट ३-० गोलअन्तरले हराउँदै लगातार दोस्रो जित निकालेको हो ।
खेल सुरु भएको पहिलो मिनेटमै भरत टमाटाले गोल गर्दै सुदूरपश्चिमलाई अग्रता दिलाएका थिए । त्यसपछि महेश नेपालीले उत्कृष्ट प्रदर्शन गर्दै चौथो मिनेटमा अर्को गोल थपे ।
उनले खेलको ४५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । मधेसले खेलभरि दबाब सिर्जना गर्ने प्रयास गरे पनि गोल फर्काउन सकेन ।
महिलातर्फ भने सुदूरपश्चिमले हार व्यहोर्नुपर्यो । गण्डकी प्रदेशसँग १-० ले पराजित हुँदै सुदूरपश्चिम अंक जोड्नबाट वञ्चित रह्यो ।

प्रतिस्पर्धात्मक खेलको ३० औं मिनेटमा अंकिता अधिकारीले निर्णायक गोल गर्दै गण्डकीलाई अग्रता दिलाइन् । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा सोही एक गोल नै निर्णायक बन्यो ।
पुरुषतर्फकै अर्को खेलमा गण्डकीले बागमती प्रदेशमाथि ३–१ को जित निकाल्यो । गण्डकीका विवेक गुरुङले नवौँ मिनेटमै गोल गर्दै टोलीलाई अघि बढाए ।
३९ औं मिनेटमा विशाल कुमारले अग्रता दोब्बर बनाए भने ६० औं मिनेटमा मोहन पुनले तेस्रो गोल थप्दै जित पक्का गरे । बागमतीका जेम्स पेरी श्रेष्ठले ४० औं मिनेटमा एक गोल फर्काए पनि त्यो सान्त्वनामा सीमित रह्यो ।
बुधबार सम्पन्न खेलहरूको नतिजापछि पुरुषतर्फ गण्डकी र सुदूरपश्चिम दुवै टोली अपराजित रहँदै समान ६ अंकसहित शीर्ष प्रतिस्पर्धामा रहेका छन् । महिलातर्फ गण्डकी लगातार दुई जितसहित ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ६ टोली र महिलातर्फ ५ टोली सहभागी छन् । दुवै विधामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले क्रमश: ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
