केराबारी (मोरङ) । द योङ ब्रदर्स क्लब, इटहरी (सुनसरी) लाई हराउँदै झापा-११, झापा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कपमा फाइनलमा प्रवेश गरेको छ ।

केराबारी-८ स्थित केराबारी रङ्गशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा खेलमा द योङ ब्रदर्स क्लबलाई ३-० ले पराजित गर्दै झापा-११ उपाधि नजिक पुगेको हो ।

झापालाई जित दिलाउन निखिल तामाङले दुई तथा घनश्याम कार्कीले एक गोल गरे । खेलको पहिलो हाफको १२औं मिनेटमा निखिलले पेनाल्टीमार्फत गोल गर्दै झापालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा नै एक गोलको अग्रता बनाएको झापाले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै निखिलले ब्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे । त्यसपछि खेल सकिन एक मिनेट बाँकी रहँदा बैकल्पिक खेलाडी घनश्याम कार्कीले गोल गर्दै झापालाई ३-० को जित दिलाए ।

खेलको म्यान अफ दि म्याच झापाका निखिल तामाङ घोषित भए । उनले रु ५ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

सोमबार आयोजक केराबारी एफसी मोरङ र डाँडाबजार एफसी धनकुटाकाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक केराबारी गाउँपालिका, मोरङ (कोशी प्रदेश) रहेको छ भने आयोजक केराबारी फुटबल क्लब, मोरङ हो ।

फागुन ६ गतेसम्म चल्ने प्रतियोगितामा कुल ८ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले रु ४ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले रु २ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *