सुनसरी । सुनसरीको दुहबीमा जारी ११औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक गोल्डेन स्टार युथ क्लब भलुवा, सुनसरीले आर.आई.एफ.सी, काठमाडौंलाई २–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा गोल्डेन स्टार युथ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै आर.आइ.एफ.सी. लाई स्तब्ध बनाउँदै जित हात पारेको हो ।

खेलको पहिलो हाफको १८औं मिनेटमा गोल्डेनका कृपाकान्त महतोले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको २६औं मिनेटमा कृपाकान्त महतोले ब्यक्तिगत दोस्रो गोल गर्दै गोल्डेनको जित सुनिश्चित गरे । आर.आइ.एफ.सी. का अनिश राजधामीले दोस्रो हाफको ३५औं मिनेटमा एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

खेलको म्यान अफ दि म्याच गोल्डेनका कृपाकान्त महतो घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरे ।

भोलि मंगलबारको खेल रारा फुटबल क्लब, राजारानी, धनकुटा र चात्या सा फुटबल क्लब, दमक, झापाका बीच हुने आयोजकले जनाएको छ ।

फागुन ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै खेलमा बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई आकर्षक पुरस्कार पाउने आयोजकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *