धरान (सुनसरी) । लालीगुराँस फुटबल क्लब, पोखरालाई पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौं २६औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार धरान रंगशालामा भएको पहिलो सेमिफाइनलमा खेलमा लालीगुराँस फुटबल क्लबलाई २-१ ले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड उपाधि नजिक पुगेको हो ।
प्लानिङ ब्वाइजको जितमा विदेशी खेलाडी विलियम एलेक्स र प्रतापसिंह राईले १-१ गोल गरे । लालीगुराँसका लागि स्कन्दर सिद्धिकिले गोल गरे ।
खेलमा अग्रता भने लालीगुराँसले लिएको थियो । खेल सुरु भएको छैटौं मिनेटमा सिद्धिकिले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए ।
खेलको २५औं मिनेटमा प्लानिङ ब्वाइजका पापा इबोउ केबे र लालीगुराँसका इस्कन्दर सिद्धिकीबीच बीच हात हालाहाल भएपछि रेफ्रीले रातो कार्ड देखाएर दुबैलाई मैदानबाहिर पठाएका थिए ।
तर, लालीगुराँसका मेनेजर इश्वर बस्यालले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएपछि खेल झन तनावपूर्ण बन्यो । रेफ्रीले उनलाई पनि रातो कार्ड देखाएपछि उनले प्लेयरबक्स छोड्न बाध्य भए । खेल करिब सात मिनेट अवरुद्ध भएको थियो ।
खेलको पहिलो हाफमा १–० ले पछि परेको प्लानिङ ब्वाइजले दोस्रो हाफमा २ गोल गर्यो । खेलको ५९औं मिनेटमा विलियमले प्लानिङ ब्वाइजका लागि बराबरी गोल फर्काए । निर्धारित समय सकिन तीन मिनेट अघि प्रतापसिंहले पेनाल्टी मार्फत गोल थप्दा प्लानिङ ब्वाइज विजयी भयो ।
लालीगुराँसका अकोओटे जुनियरले एलेक्सलाई पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले प्लानिङ ब्वाइजलाई पेनाल्टी हान्ने अवसर दिएका थिए ।
खेलको म्यान अफ द म्याच प्लानिङ ब्वाइजका प्रतापसिंह राई घोषित भए । उनले नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । बिहिवार झापा ११ फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
फाल्गुन २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफी र मेडलसहित १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउनेछन्, जसका लागि फाइनल खेल्ने दुई टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरिनेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइने छ भने सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पाउनेछन् ।
