पोखरा । मच्छिन्द्र क्लबलाई पराजित गर्दै जावलाखेल युथ क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको २५औँ संस्करणमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्र क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै जावलाखेल अन्तिम आठमा प्रवेश गरेको हो ।

जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी निकोलस हेमिलटनले ५४औं र अर्का विदेशी खेलाडी बौबुकार सिसोखोकोले ६४औं मिनेटमा गोल गरे ।
खेलको म्यान अफ दि म्याच जावलाखेलका निकोलस हेमिलटन घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । अब जावालखेलले आइतबार हुने क्वार्टरफाइनल खेलमा चर्च व्वाइजको सामना गर्नेछ ।

भोली (विहिबार)को खेल शसस्त्र प्रहरीको एपिएफ क्लब र मनाङ मर्स्याङदीकाबीच हुनेछ । फागुन ४ गतेसम्म चल्ने प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५–२५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । साथै, सर्वाधिक गोलकर्तालाई पनि नगद २५ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिनेछ ।
