धरानमा जारी २६औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशालामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलले स्तब्ध बनाउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
खेल सुरु भएको पहिलो मिनेटमै रिचार्ड वेलसनले गरेको गोल निर्णायक सावित भयो । पहिलो गोल पश्चात् पुलिसका सन्जिब लामा र चर्च ब्वाइजका दिपेश गुरुङबीच हात हालाहालको स्थिति सिर्जना भएपछि रेफ्रीले दुवै टोलीका एक एक खेलाडीलाई रेड कार्ड देखाएका थिए ।
खेलको म्यान अफ दि म्याच चर्च ब्याइजका निर्णायक गोलकर्ता रिचार्ड वेलसन घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

सोमबार आयोजक धरान फुटबल क्लब धरान र लालीगुराँस एफसी पोखराबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
फाल्गुन २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफी र मेडलसहित १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउनेछन्, जसका लागि फाइनल खेल्ने दुई टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरिनेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइने छ भने सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पाउनेछन् ।
