काठमाडौं । राजधानीमा जारी विकास शिल्ड बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो दिन अन्तिम आठको प्रतिस्पर्धामा विजयी हासिल गर्दै कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश (क) र (ख)ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरे ।
दिनको पहिलो खेलमा बागमती (ख) ले कर्णाली प्रदेशको चुनौती ३-१ ले पन्छायो । दोस्रो खेलमा बागमती (क)ले लुम्बिनी प्रदेशलाई पेनाल्टी सुटआउटमा ४–२ ले निराश पार्यो । यसअघि निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो ।
दिनको तेस्रो खेलमा मधेश प्रदेश र सुदूरपश्चिम आमने-सामने भएका थिए । सुदूरपश्चिमले मधेशविरुद्ध ४–० को रवाफिलो जित हासिल गर्यो। अन्तिम क्वार्टरफाइनल खेलमा कोशीले गण्डकीमाथि ६-२ को सानदार जित निकाल्यो ।
सुन्दरढोका साथीसेवाले अपांगता खेलकुद प्रवद्र्धन गर्ने उद्धेश्यले संचालन गर्दै आएको विकास शिल्डअन्तर्गत यसपटक राष्ट्रियस्तरमै पहिलोपटक बहिरा फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
बहिराहरुले पनि फुटबल खेल्न सकिन्छ भन्ने सन्देश दिन आयोजना गरिएको यस प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रामचरित्र मेहताको प्रमुख आतिथ्यतामा भएको थियो ।
सेमिफाइनल र फाइनल खेल सोमबार हुनेछन् । बिहान ९ बजे हुने पहिलो सेमिफाइनलमा बागमती (ख) ले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि १०:३० बजे बागमती (क) ले कोशीसँग खेल्नेछ। फाइनल खेल दिउँसो ३ बजे हुने तालिका छ । यसबीच तेस्रो स्थानका लागि पनि प्रतिस्पर्धा हुनेछ ।
समाजमा बहिरा व्यक्तिहरुलाई हेरिने दृष्टिकोणलाई परिवर्तन गर्न पनि यो प्रतियोगिता आयोजना गरिएको हो। बहिरा व्यक्तिहरुबीच मित्रताको भावना कायम गर्न पनि यो प्रतियोगिताले ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ ।
