काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन् ।
शुक्रबार इभन–पार ६८ खेलेका उनले समग्रमा ६–अन्डर २ सय ६६ सहित उपाधि जितेका हुन् । उनले दिनेश प्रजापति र सञ्जय लामालाई ४ स्ट्रोकले हराउँदै लगातार दोस्रो पटक उपाधि जिते । उपाधिसँगै १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे। भुवनको यो करियरको १३ औं उपाधि हो ।
समग्रमा २–अन्डर २ सय ७० को स्कोरमा सञ्जय र दिनेशले संयुक्तरुपमा दोस्रो स्थान हात पारे। सञ्जयले आज १–ओभर ६९ र दिनेशले ३–ओभर ७१ मा आजको खेल सकाए । उनीहरूले समान ९५ हजार नगद पुरस्कार हात पारे ।
समग्रमा १–अन्डर २ सय ७१ स्कोर जोडेका नेपाल नम्बर एक गल्फर निरज तामाङ, रवि खड्का र रामे मगरले संयुक्तरुपमा चौथो स्थान बाँडे । निरजलर आज १–ओभर ६९, रविले २–ओभर ७० र रामेले ३–ओभर ७१ को स्कोर कार्ड बनाए । उनीहरूलाई नगद ६३ हजार पुरस्कार वितरण गरियो ।
आज ३–अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा २–ओभर २ सय ७४ का साथ तोरण विक्रम शाहीले सातौं स्थान हात पारे । उनले ४७ हजार प्राप्त गरे । इभन–पार ६८ खेलेको जयरामले समग्रमा ३–ओभर २ सय ७५ सहित आठौं स्थानमा प्रतियोगिता सकाए । उनले ४१ हजार आफ्नो नाममा लेखाए ।
यस्तै ५–ओभर २ सय ७७ सहित भुवन कुमार रोक्का र टंक बहादुर कार्कीले नवौं स्थान बाँडे । भुवनले २–अन्डर ६६ र टंकले २–ओभर ७० मा अन्तिम दिनको खेल पुरा गरे । उनीहरूले ३३ हजार ५ सय नगद पुरस्कार पाए ।
एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुल विश्वकर्माले स्वप्निल भट्टराईलाई ८ स्ट्रोकले हराउँदै उपाधि जिते । आज ३–अन्डर ६५ खेलेका राहुलले समग्रमा इभन–पार २ सय ७२ स्कोर गरे । आज ३–ओभर ७१ खेलेका स्वप्निलले समग्रमा ८–ओभर २ सय ८० स्कोर जोडे । समग्रमा ११–ओभर २ सय ८२ बनाएका महेन्द्र फगामी तेस्रो भए । आज उनले ४–ओभर ७२ को स्कोर दर्ज गरे ।
अन्तिम १८ होलको खेलको सुरूवात गर्दा भुवन दिनेशभन्दा मात्र १ स्ट्रोकले अगाडि थिए । तर अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा भुवनको जित सहज बन्यो । भुवनले फ्रन्ट र ब्याक नाइन इभन–पार ३४ मा सकाए । उनले पहिलो, चौथो र १७औं होलमा बर्डी प्रहार गरे । छैटौं, आठौं र १८औं होलमा एक–एक सट खेर फाले ।
सञ्जयले सातौं होलमा बोगी प्रहार गर्दा बाकी होलमा पार जोगाउँदै फ्रन्ट नाइन १–ओभर ३५ मा फ्रन्ट नाइन सकाए । यसपछि १३औं होलको बर्डीका विरुद्ध १८औं होलको बोगीले ब्याक नाइन इभन–पार ३४ खेले ।
दिनेशले पहिलो र छैटौं होलको बोगीले फ्रन्ट नाइन २–ओभर ३६ मा सकाए । यसपछि १०औं, १३औं र १५औं होलमा एक–एक सट बचाए । तर यसपछि ११औं, १२औं, १४औं र १६औं होलमा बोगी खेपे ।
विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटी जनरल म्यानेजर केशव प्रधान, नेपाल प्रोफेशनल गल्फर्स संघ (एनपीजीए) का अध्यक्ष रविन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे। दिने प्रतियोगितामा ३४ जना व्यावसायिक तथा २१ जना एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका थिए ।
खेलाडीहरूले कुल ८ लाख ७५ हजार रुपैयाँको लागि प्रतिस्पर्धा गरे । शीर्ष १८ स्थान सम्म रहने खेलाडी नगद पुरस्कारको हकदार बने ।
