बिर्तामोड । नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) सुनसरी च्याप्टरको आयोजनामा ‘एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ ।

धरानस्थित गल्फ कोर्समा फागुन १६ गते ६० जनाभन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता एक दिने प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता आयोजक एनवाइइएफ सुनसरीका अध्यक्ष राजीव घिमिरेले प्रतियोगितामा १ सय ५० जना भन्दा बढी उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उपस्थितिले प्रतियोगितालाई खेलकुदसँगै उच्चस्तरीय व्यावसायिक नेटवर्किङ मञ्चका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको बताए ।

घिमिरेले प्रतियोगिताको मुख्य उद्देश्य खेलभावना प्रवर्द्धन गर्नुका साथै युवा उद्यमीहरूबीच सहकार्य, नेतृत्व विकास तथा सम्बन्ध विस्तार गर्नु रहेको जानकारी दिए ।

त्यस्तै, आयोजकले प्रतियोगिताले धरानलाई राष्ट्रियस्तरको खेलकुद तथा व्यावसायिक नेटवर्किङ कार्यक्रमहरूको गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

एसजी ग्रुप सह–प्रवर्द्धक रहेको प्रतियोगिताको सञ्चालनमा लाग्ने खर्चको केही अंश स्थानीय युवा प्रतिभालाई प्रोत्साहन गर्न र धरानका जुनियर गल्फ खेलाडीहरूको सम्बर्द्धन तथा क्षमता अभिवृद्धिका लागि खर्च गर्ने आयोजकले तयारी गरेको छ । प्रतियोगितालाई एनवाइइएफ राष्ट्रिय गभर्निङ काउन्सिलले आधिकारिक रूपमा अनुमोदित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *