काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन् । उद्घाटन खेलसँगै राष्ट्रिय लिगले औपचारिक सुरुवात गर्नेछ ।

यस संस्करणको राष्ट्रिय लिगमा १७ क्लबको सहभागिता रहनेछ । लिग सुरु हुनुअघि मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सहभागी सबै टोलीका प्रशिक्षक तथा कप्तानहरूले लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् ।

तीन वर्षदेखि शहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्न नसकेको एन्फाले यसपटक सिंगल राउन्ड रोबिन प्रणालीमा राष्ट्रिय लिग सञ्चालन गर्न लागेको हो । लिगमार्फत क्लबहरूलाई नियमित प्रतिस्पर्धा उपलब्ध गराउने तथा नेपाली फुटबलको स्तर उकास्ने एन्फाको उद्देश्य रहेको छ ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रंगशाला सातदोबाटोस्थित एन्फा मैदान तथा च्यासल मैदानमा आयोजना हुनेछन् ।

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ ‘ए’ डिभिजन क्लबका साथै मोफसलका लालिगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसी सहभागी हुनेछन् ।

राष्ट्रिय लिगको विजेता टोलीले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितालाई नेपाली क्लब फुटबलका लागि महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ, जहाँ नयाँ प्रतिभा र स्थापित खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *