विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा आदर्श माध्यमिक विद्यालयको समन्वयमा जारी प्रथम मेयर कप अन्तरविद्यालय यु-१६ फुटबल प्रतियोगितामा चार विद्यालय सेमिफाइलमा प्रवेश गरेका छन् ।
विराटनगरस्थित सहिद मैदानमा बिहिवार सम्पन्न खेलमा सेन्ट जोसेफ स्कुल, डन बस्को स्कुल, जनता नमुन माध्यमिक विद्यालय र आदर्श माध्यमिक विद्यालय विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो क्वाटरफाइनल खेलमा सेन्ट जोसेफ स्कुलले मोडर्न एरा स्कुललाई १-० ले स्तब्ध बनाउँदै अन्तिम चारमा प्रवेश गरेको हो । सेन्ट जोसेफका लागि प्रबेश गुरुङले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच सेन्ट जोसेफका अरबिन्द राज गिरी घोषित भए ।
दोस्रो क्वाटरफाइनलमा डन बस्को स्कुलले बुढानिलकण्ठ स्कुललाई टाइब्रेकरमा ५-४ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुबै टोलीले १-१ को बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । निर्धारित समयमा बुढानिलकण्ठका लागि सुमित खड्काले गोल गरे भने डन बस्कोका लागि प्रकाश कामतले गोल गरे । खेलको म्यान अफ दि म्याच डन बस्कोका सुभम कामत चुनिए ।
त्यसैगरी तेस्रो क्वार्टरफाइनलमा जनता नमुना माध्यमिक विद्यालयले सनसाईन स्कुललाई १-० ले निराश बनाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । जनता नमुनालाई जित दिलाउन दुर्लभ भुजेलले निर्णायक गोल गरे । दुर्लभ नै खेलको म्यान अफ दि म्याच घोषित भए ।
चौथो तथा अन्तिम क्वार्टरफाइनलमा आदर्श माध्यमिक विद्यालयले बिकेभिएम स्कुललाई टाइब्रेकरमा ३-२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयमा दुबै टोलीले १-१ को बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । निर्धारित समयमा बिकेभिएमका अधारिज मारिकले गोल गरे भने आदर्शका लागि दिलिप यादवले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच आदर्शका गोलरक्षक योगेश राजवंशी भए ।
भोलि शुक्रबार सेन्ट जोसेफ र डन बस्को तथा जनता नमुना र आदर्शबीचको प्रतिस्पर्धाबाट दुई विद्यालय फाइनलमा प्रवेश गर्नेछन् ।
विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने र विद्यार्थीलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा विराटनगर महानगरपालिका भित्रका २५ विद्यालय सहभागी छन् । जसमा सामुदायिकबाट १० र संस्थागतबाट १५ विद्यालय रहेका छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ७५ हजार तथा तेस्रो हुने दुई विद्यालयले जनही ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको फाइनल खेल माघ ११ गते आइतबार हुनेछ ।
