विराटनगर । बरगाछी युवा समूह, विराटनगरको आयोजनामा जारी तेस्रो स्व.अभिषेक थापा स्मृति यु-२२ फुटबल प्रतियोगिताको दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् ।

शनिबार विराटनगर-१ स्थित परोपकार घाटको खेल मैदानमा भएको पहिलो खेलमा एकता एफसी, इटहरीले भौडाहा युवा क्लब, कटहरीलाई २-० ले पराजित गर्यो । एकतालाई जित दिलाउन दुबै गोल सुलप खाजुनले गरे । खेलको म्यान अफ दि म्याच पनि खाजुन नै भए । उनले विराटनगरमा रहेको विराट स्पोर्ट्स जोनबाट एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गरे ।

दिनको दोस्रो खेलमा पशुपति एफसी, दुहबीले खयरबोटे युवा समाज, इटहरीलाई २-१ ले निराश बनायो । पशुपतिको जितमा बिशाल आले मगर र शुभम कुमार गच्छादरले समान एक-एक गोल गरे । पराजित खयरबोटेका लागि आयुस राजबंशीले गोल गरे । खेलको म्यान अफ दि म्याच खयरबोटेका गोलकर्ता आयुस राजबंशी चुनिए । उनले पनि विराट स्पोर्ट्स जोनबाट एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गरे ।

त्यसैगरी दिनको तेस्रो तथा अन्तिम खेलमा बनसखण्डी युवा क्लब, कटहरीले सत्कार होटल एन्ड टुरिसम स्कुल, विराटनगरलाई ३-० ले पाखा लगायो । बनसखण्डीको जितमा सरोज उराउले दुई तथा अभि रामले एक गोल गरे । खेलको म्यान अफ दि म्याच बनसखण्डीका धिरेन खडियारी घोषित भए । उनले पनि विराट स्पोर्ट्स जोनबाट एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत भोलि आइतबार दुई खेल हुने छन् । पहिलो खेल जिएफसी बेलबारी, बेलबारी र जनपथ फुटबल ट्रेनिङ सेन्टर, विराटनगरबीच बिहान ११ बजे तथा दोस्रो खेल मोडर्न एरा फुटबल एकेडेमी, विराटनगर र मितेरी युवा क्लब, विराटचोकबीच दिउँसो १ बजे खेल हुनेछ ।

लागु औषध दुर्व्यसनी न्युनिकरण गर्न ‘स्वास्थ्य जीवन, मस्त जीवनका लागि खेलकुद’ भन्ने मुल नारा सहित आयोजना गरिएको प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ३० हजार रुपैयाँ तथा उपविजेताले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल माघ ७ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *