विराटनगर । बरगाछी युवा समूह, विराटनगरको आयोजनामा जारी तेस्रो स्व.अभिषेक थापा स्मृति यु-२२ फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

सोमबार विराटनगर-१ स्थित परोपकार घाटको खेल मैदानमा सम्पन्न दुई क्वार्टरफाइनल खेलबाट एकता एफसी, इटहरी र आयोजक बरगाछी युवा समूह ‘ए’ सेमिफाइनलमा पुगेका छन् ।

एकताले तेस्रो क्वार्टरफाइनल खेलमा पशुपति एफसी, दुहबीलाई ३-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । एकताको जितमा सुलप खाजुन, समिर चौधरी र युनिस मगरले समान १-१ गोल गरे ।

पशुपतिका लागि एक मात्र गोल प्रनिश न्यौपानेले पेनाल्टी मार्फत गरे । खेलको म्यान अफ दि म्याच एकताका समिर चौधरी घोषित भए । उनले विराटनगरमा रहेको विराट स्पोर्ट्स जोनबाट एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गरे ।

यसैगरी सोमबारै सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा बनसखण्डी युवा क्लब, कटहरीलाई ३-० ले हराउँदै आयोजक बरगाछी युवा समाज ‘ए’ ले अन्तिम चारको यात्रा तय गर्यो ।

बरगाछीलाई जित दिलाउन सिजल राई, निश्चल खड्का र आर्यन बिकले समान १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच बरगाछीका सिजल राई चुनिए । उनले पनि विराट स्पोर्ट्स जोनबाट एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत भोलि मंगलबार सेमिफाइनलका दुबै खेल हुने छन् । दिउँसो १ बजे जिएफसी, बेलबारी र मितेरी फुटबल क्लब, विराटचोकबीच पहिलो सेमिफाइनल खेल हुनेछ भने एकता एफसी, इटहरी र आयोजक बरगाछी युवा समूह ‘ए’ बीच दिउँसो २:३० दोस्रो सेमिफाइनल खेल हुनेछ ।

लागु औषध दुर्व्यसनी न्युनिकरण गर्न ‘स्वास्थ्य जीवन, मस्त जीवनका लागि खेलकुद’ भन्ने मुल नारा सहित आयोजना गरिएको प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ३० हजार रुपैयाँ तथा उपविजेताले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल माघ ७ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *