विराटनगर । बरगाछी युवा समूह, विराटनगरको आयोजनामा जारी तेस्रो स्व.अभिषेक थापा स्मृति यु-२२ फुटबल प्रतियोगिताको उपाधिका लागि मितेरी एफसी, विराटचोक र आयोजक बरगाछी युवा समाज, विराटनगर भिड्ने भएका छन् ।

मंगलबार विराटनगर-१ स्थित परोपकार घाटको खेल मैदानमा सम्पन्न दुई सेमिफाइनल खेलबाट मितेरी र आयोजक विजयी हुँदै फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो सेमिफाइनलमा मितेरीले जि एफसी, बेलबारीलाई टाइब्रेकरमा ५-४ ले पराजित गर्यो । निर्धारित समयमा दुबै टिमले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।

निर्धारित समयमा मितेरीका लागि दुबै गोल ग्यालेक्सी लिम्बुले गरे । जि एफसीका लागि सन्देश राई र समिर कुमार चौधरीले समान १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच मितेरीका गोलरक्षक अभिषेक लिम्बु घोषित भए । उनले विराटनगरमा रहेको विराट स्पोर्ट्स जोनबाट एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गरे ।

अर्को सेमिफाइनलमा आयोजक बरगाछी युवा समूहले एकता एफसी, इटहरीलाई सडेन डेथमा ५-४ ले हरायो । निर्धारित समयमा दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा दुवै टिमले बराबरी गोल गरेपछि खेल सडेन डेथमा पुगेको हो ।

निर्धारित समयमा आयोजकका लागि सौर्य राउत र निशान राईले १-१ गोल गरे भने एकताका लागि अप्सन श्रेष्ठ र मौसम तामङले १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच आयोजकका गोलरक्षक नयन चौधरी भए । उनले पनि विराट स्पोर्ट्स जोनबाट एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गरे ।

आयोजक र मितेरीबीचको फाइनल खेल भोलि बुधबार दिउँसो २ बजे हुनेछ । लागु औषध दुर्व्यसनी न्युनिकरण गर्न ‘स्वास्थ्य जीवन, मस्त जीवनका लागि खेलकुद’ भन्ने मुल नारा सहित आयोजना गरिएको प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ३० हजार रुपैयाँ तथा उपविजेताले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *