तरहरा (सुनसरी) । सातौं सुदेश सुब्बा मेमोरियल हिम शिखर कप प्राइमरी लेभल अन्तर बिधालय फुटबल प्रतियोगिताको उपाधि मुनबिम एकेडमी, कालाबञ्जर, बराहक्षेत्रले जितेको छ ।
सुनसरीको तरहारास्थित हिम शिखर इङ्लिस स्कुलको मैदानमा सम्पन्न फाइनल खेलमा भरौल बालमन्दिर इङ्लिस स्कुल, नडाहा, बराहक्षेत्रलाई सडेन डेथमा ४-३ ले पराजित गर्दै मुनबिमले उपाधि हात पारेको हो ।
निर्धारित समयको खेलमा दुबै तर्फबाट गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि खेल सडेन डेथमा पुगेको हो ।
जितसँगै मुनबिमले नगद २५ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । उप विजेतामा चित्त बुझाउन बाध्य भएको भरौल बालमन्दिर इङ्लिस स्कुलले १५ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो ।
फाइनल खेलको प्लेयर अफ दि म्याच भरौलका सन थेबे घोषित भए । प्रतियोगिताका हाइ गोल स्कोरर मुनबिमका अभिषेक बि.क. भए । त्यसैगरी, सर्वोत्कृष्ट खेलाडी मुनबिमका रिगजेन गुरुङ, उत्कृष्ट गोलकिपर मुनबिमकै कबिन सिवाकोटी, उत्कृष्ट डिफेन्डर भरौल बालमन्दिरका इनम राई, उत्कृष्ट मिडफिल्डर भरौल बालमन्दिरकै अभिरल तामाङ घोषित भए भने उत्कृष्ट प्रशिक्षकको उपाधि मुनबिमका जिवन धामीले हात पारे ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि कोशी प्रदेश प्याब्सनका अध्यक्ष सुमित थापा रहेका थिए । हिम शिखर इङ्लिस स्कुल, तरहरा, सुनसरीको आयोजनामा भएको प्रतियोगितामा कुल १६ विधालयको सहभागिता रहेको थियो । प्रतियोगिता माघ ११ गतेदेखि शुरु भएको थियो ।
