विराटनगर । बरगाछी युवा समूह, विराटनगरको आयोजनामा जारी तेस्रो स्व.अभिषेक थापा स्मृति यु-२२ फुटबल प्रतियोगितामा जिएफसी, बेलबारी र मितेरी फुटबल क्लब, विराटचोक सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार विराटनगर-१ स्थित परोपकार घाटको खेल मैदानमा भएको पहिलो क्वार्टरफाइनल खेलमा जनपथ फुटबल ट्रेनिङ सेन्टर, विराटनगरलाई २-१ ले निराश बनाउँदै जिएफसी अन्तिम चारमा प्रवेश गरेको हो ।
जिएफसीको जितमा बिबेक खवास र जतिन थारुले समान एक-एक गोल गरे । जनपथका लागि कोमल श्रेष्ठले गोल गरे । खेलको म्यान अफ दि म्याच जिएफसीका जतिन थारु घोषित भए । उनले विराटनगरमा रहेको विराट स्पोर्ट्स जोनबाट एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गरे ।
त्यसैगरी आइतबारै सम्पन्न दोस्रो क्वार्टरफाइनलमा मितेरी युवा क्लबले मोडर्न एरा फुटबल एकेडेमी, विराटनगरलाई ५-१ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो ।
मितेरीलाई जित दिलाउन ग्यालेक्सी लिम्बु र दिपेश चौधरीले समान दुई-दुई तथा सुदिप गुरुङले एक गोल गरे । मोडर्न एराका लागि आर्यन भण्डारीले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच मितेरीका ग्यालेक्सी लिम्बु चुनिए । उनले पनि विराट स्पोर्ट्स जोनबाट एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोलि सोमबार क्वार्टरफाइनलका अन्तिम दुई खेल हुने छन् । बिहान ११ बजे एकता एफसी, इटहरी र पशुपति एफसी, दुहबीबीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ भने बनसखण्डी युवा क्लब र आयोजक बरगाछी युवा समूह ‘ए’ बीच दिउँसो १ बजे चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल हुनेछ ।
लागु औषध दुर्व्यसनी न्युनिकरण गर्न ‘स्वास्थ्य जीवन, मस्त जीवनका लागि खेलकुद’ भन्ने मुल नारा सहित आयोजना गरिएको प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ३० हजार रुपैयाँ तथा उपविजेताले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल माघ ७ गते हुनेछ ।
