खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सम्पन्न जिल्लाकै सर्वाधिक राशिको ‘प्रभुराम राई आमन्त्रित फुटबल कप २०८२’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले जितेको छ ।

यलम्बर खेलमैदानमा आइतबार साँझ सम्पन्न फाइनल खेलमा गछिया युवा समाज मोरङलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै नेर्पा स्पोर्टस् क्लब नेर्पा खोटाङले प्रथम उपाधि जितेको हो ।

बुइपाका स्थायी बासिन्दा ८२ वर्षीय प्रभुराम राईको सम्मानमा उनको परिवारका सदस्यको प्रायोजन तथा बुइपा–११ स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगिताको उपाधि विजेता नेर्पाले नगद रु. तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

जिल्लाभित्रका ६ तथा बाहिरी जिल्लाका चार गरी १० टोलीको सहभागिता रहेको प्रतियोगिताको उपविजेता गछिया युवा समाज मोरङले नगद रु एक लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

फाइनल खेलको निर्धारित समयमा दुवै टोलीको एक÷एक गोल भएको थियो । निर्धारित समयमा बराबरी गोल भएपछि समय अभावका कारण सिधै टाइब्रेकरमार्फत छिनोफानो गरिएको हो ।

प्रतियोगिताका सेमिफाइनलिष्ट दुई समूह खारम्बु स्पोर्टस् क्लब खार्मी र आयोजक बुइपा–११ स्पोर्टस् क्बल बुइपाले नगद रु ५०/५० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिता अवधिभरका सर्वोउत्कृष्ट खेलाडी घोषित नेर्पा स्पोर्टस् क्लबका सलिन ढकाल ‘राम’लेरु ३० हजार प्राप्त गरेका आयोजक क्लबका सचिव रोशन चाम्लिङले जानकारी दिए ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता समान पाँच÷पाँच गोल गर्ने नेर्पा स्पोर्टस क्लबका बिकी चाम्लिङ र गछिया युवा समाजका मिक्चेन दास, उत्कृष्ट गोलरक्षक नेर्पाका रोहन परियार, उत्कृष्ट डिफेन्डर बुइपाका रामसुर राई, उत्कृष्ट मिडफिल्डर गछियाका योना लिम्बु, उदयीमान खेलाडी बुइपाका एलन राई, उत्कृष्ट फरवार्ड गछियाका रोहन गुरुङ र उत्कृष्ट प्रशिक्षक नेर्पाका डिगेन्द्र गुरुङलाई समेत नगदसहित पुरस्कृत गरिएको छ । प्रतियोगिताको विधागत पुरस्कार जनही रु १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *