पिसोमाथि इन्टरको गोल वर्षा

२०८२, ११ माघ शनिबार १०:१५

इटालीको सिरी ए मा इन्टर मिलानले पिसोमाथि गोल वर्षा गर्दै ६–२ को शानदार जित निकालेको छ । सुरुआतमै दुई गोलले पछि परेको इन्टरले पुनरागमन गर्दै घरेलु मैदानमा प्रभावशाली प्रदर्शन गर्‍यो ।

खेलको ११औँ र २३औँ मिनेटमा स्टेफानो मोरियोले पिसाका लागि गोल गर्दै पाहुना टोलीलाई २–० को अग्रता दिलाएका थिए । तर त्यसपछि इन्टरले खेलमा नियन्त्रण जमायो। ३९औँ मिनेटमा पिओत्र जेलिन्स्कीले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई खेलमा फर्काए भने ४१औँ मिनेटमा कप्तान लाउतारो मार्टिनेजले बराबरी गोल गरे । पहिलो हाफको इन्जुरी समयमा फ्रान्चेस्को पियो एस्पोसिटोले गोल गर्दै इन्टरलाई ३–२ को अग्रता दिलाए ।

दोस्रो हाफमा इन्टरको आक्रमण अझ प्रभावकारी बन्यो । ८२औँ मिनेटमा फेडेरिको डिमार्कोले गोल गरे भने ८६औँ मिनेटमा एन्जे–योआन बोन्नीले पाँचौँ गोल थपे । खेलको अन्तिम समयमा हेनरिक मिखितारियनले हेडरमार्फत गोल गर्दै इन्टरको जित ६–२ मा पुर्‍याए ।

यो जितसँगै इन्टर मिलानले सिरी ए का २२ खेलबाट ५२ अंक पुर्‍याएको छ र शीर्ष स्थानमा मजबुत बनेको छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ४६ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *