विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आजदेखि वार्षिक स्पोर्ट्स मीट सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन नर्सरीदेखि कक्षा तीनसम्मका विद्यार्थी सहभागी हुने विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक स्पर्धा सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार नर्सरी तहका बालबालिकाका लागि ‘ब्यालेन्स रेस’, ‘स्विट रेस’ र ‘म्युजिकल चेयर’ आयोजना गरिएको छ । एलकेजी तहमा ‘स्विटर रेस’ र ‘वाटर पोरिङ’ तथा यूकेजीका विद्यार्थीका लागि बलुन फुटाउने, ‘रेडी टु स्कुल’, ‘म्युजिकल चेयर’ र ५० मिटर दौडका स्पर्धा समावेश छन् ।

कक्षा एकका विद्यार्थीका लागि बोतल भर्ने, ‘म्युजिकल चेयर’, ‘म्याथ रेस’, सियोमा धागो छिराउने तथा ५० मिटर दौड आयोजना गरिनेछ । यस्तै कक्षा दुई र तीनका विद्यार्थीले ५० मिटर र १०० मिटर दौड, ‘म्याथ रेस’ र ‘मार्बल एण्ड स्पून रेस’ मा प्रतिस्पर्धा गर्नेछन् ।

स्पोर्ट्स मीट अन्तर्गत कक्षा चार र पाँचका विद्यार्थीका लागि १०० मिटर र २०० मिटर दौडसँगै ‘म्याथ रेस’ र ‘मार्बल एण्ड स्पून रेस’ राखिएको छ । कक्षा छ र सातका विद्यार्थीले लङजम्प, १०० मिटर र २०० मिटर दौडमा सहभागिता जनाउनेछन् भने सोही तहका विद्यार्थीबीच ४×१०० मिटर रिले दौड पनि आयोजना गरिनेछ ।

कक्षा आठ र नौका विद्यार्थीका लागि लङजम्प, ट्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल तथा विभिन्न दौड विधाका स्पर्धा सञ्चालन हुनेछन् । केही खेलकुद विधामा छात्र र छात्राबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गरिने विद्यालयले जनाएको छ ।

डंगोलका अनुसार माघ ७ गतेसम्म सञ्चालन हुने स्पोर्ट्स मीटका विजेता खेलाडीहरूलाई विद्यालयको वार्षिकोत्सवका अवसरमा पुरस्कार प्रदान गरिनेछ । विद्यालयले यस्ता गतिविधिले विद्यार्थीको शारीरिक विकाससँगै अनुशासन, सहकार्य र खेलभावनाको विकासमा सहयोग पुग्ने विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *