काठमाडौं । नेपालमा विद्यालयस्तरीय खेलकुद तथा शारीरिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र काठमाडौं विश्वविद्यालय शिक्षा संकायबीच खेलकुद पाठ्यक्रम विकासका लागि समझदारीपत्र मा हस्ताक्षर भएको छ ।
एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ र काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुइटेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । सो अवसरमा एनएसएसएफका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो ।
यस समझदारीपत्रले संरचित, प्रमाणमा आधारित र राष्ट्रिय आवश्यकता अनुसारको खेलकुद पाठ्यक्रम विकासमा एनएसएसएफको स्पष्ट प्रतिबद्धता र नेतृत्वलाई उजागर गरेको छ। यस सहकार्यबाट विद्यालय खेलकुद, शारीरिक शिक्षा तथा बालबालिकाको समग्र विकासलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ।
समझदारी अनुसार, ल्क्क्ँ ले पाठ्यक्रम आवश्यकताहरू पहिचान गर्ने, प्राथमिकता क्षेत्र निर्धारण गर्ने, विद्यालय तथा सरोकारवालासँग पहुँच सहज बनाउने र विकास गरिएका पाठ्यक्रमहरूको कार्यान्वयन तथा पाइलट परीक्षणको समन्वय गर्ने प्रमुख भूमिका निर्वाह गर्नेछ। साथै, महासंघले राष्ट्रिय विद्यालय खेलकुद अभ्यासमा आधारित प्राविधिक सुझाव प्रदान गर्ने र स्वीकृत पाठ्यक्रमहरूलाई आफ्नो सञ्जालमार्फत प्रवद्र्धन तथा प्रसार गर्नेछ ।
