विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा ‘अन्डर–१५ प्याब्सन प्रेसिडेन्ट कप’ फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । विराटनगर जुटमिलको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन दिन ६ वटा विद्यालय विजयी भएका छन् ।
प्रतियोगिताको पहिलो खेलमा बिकेभिएम स्कुल विजयी भयो । विपक्षी हेरिटेज स्कुल उपस्थित नभएपछि बिकेभिएमले ‘वाकओभर’ मार्फत जित हासिल गरेको हो ।
बिहीबारै भएको दोस्रो खेलमा ग्रेडेड स्कुलले लिलिपुट स्कुललाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । यस्तै, तेस्रो खेलमा दिल्ली पब्लिक स्कुल डीपीएसले सप्तकोशी स्कुलमाथि ५–० गोलकै जित निकाल्यो ।
चौथो खेलमा गोदावरी स्कुलले एभरेष्ट स्कुललाई १–० को झिनो गोल अन्तरले हरायो । पाँचौं खेलमा इडेन स्कुलले वाल्मीकि स्कुललाई ४–० गोलले निराश बनाउँदै जित दर्ता गर्यो । पहिलो दिनको छैटौं तथा अन्तिम खेलमा विराट शिक्षा निकेतनले सिद्धार्थ स्कुललाई ३–० गोलले पराजित गरेको छ ।
शुक्रबार पनि ६ वटा खेल सञ्चालन हुने खेल संयोजक दिनेश ढुंगानाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयका टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको फाइनल खेल पुस १ गते हुनेछ । यस नगर स्तरीय प्रतियोगिताको विजेता टिमले प्याब्सनको जिल्ला स्तरीय अन्डर–१५ प्रेसिडेन्ट कपमा सहभागिता जनाउन पाउने संयोजक ढुंगानाले बताए ।
