इङ्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिदा आर्सनलले सहज जित निकालेको छ ।

मंगलबर भएको खेलमा चेल्सी घरेलु मैदानमा बर्नमाउथसँग २-२ को बराबरीमा रोकिएको हो । खेलका चारै गोल पहिलो २७ मिनेटमै भएको थियो ।

खेलको छैटौं मिनेटमा बर्नमाउथका कप्तान डेभिड ब्रुक्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, १५औँ मिनेटमा कोल पाल्मरले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए ।

आफ्नो १००औं प्रिमियर लिग खेल खेलेका एन्जो फर्नान्डेजले २३औं मिनेटमा गोल गर्दै चेल्सीलाई २-१ अग्रता दिलाए । त्यसपछि २७औं मिनेटमा बर्नमाउथका जस्टिन क्लुइभर्टले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । दोस्रो हाफमा दुवै टोलीले प्रयास गरे पनि थप गोल हुन सकेन ।

बराबरीसँगै चेल्सी १९ खेलमा ३० अंक जोड्दै पाँचौं स्थानमा रहेको छ भने समान खेल खेलेको बर्नमाउथ २३ अंकका साथ १५औं स्थानमा छ ।

मंगलबार राति भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड घरेलु मैदानमा वुल्भ्ससँग १-१ को बराबरीमा रोकिएको छ ।

योसँगै वल्भ्सले लगातार ११ खेलको हारको सिलसिला तोडेको छ । खेलको २७औं मिनेटमा जोशुवा जिर्क्जीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, वुल्भ्सका डिफेन्डर लाडिस्लाभ क्रेज्सीले पहिलो हाफको अन्त्यतिर हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

यो बराबरीसँगै युनाइटेड १९ खेलमा ३० अंक जोडेर छैटौं स्थाथनमा युथावत छ भने समान खेल खेलेको वुल्भ्स ३ अंकसहित तालिकाको पुछारमै छ ।

यता, शीर्ष स्थानको आर्सनलले एस्टन भिल्लालाई ४-१ ले हरायो । आर्सनलको घरेलु मैदानमा भएको खेलमा गाब्रिएल मगलायसले ४८औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि मार्टिन जुबिमेन्डीले ५२औं, लियान्द्रो ट्रोसार्डले ६९औं र गाब्रिएल जिससले ७८औं मिनेटमा गोल गर्दा आर्सनल ४-० ले अघि बढ्यो । खेलको इन्जुरी समयमा ओली वाट्किन्सले भिल्लाका लागि सान्त्वना गोल गरे ।

जितसँगै आर्सनलले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ । आर्सनलले १९ खेलमा ४५ अंक जोडेको छ । यता, एस्टन भिल्लाको ११ खेलको जितको यात्रा रोकिएको छ । समान खेल खेलेको एस्टन भिल्ला ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

मंगलबार राति नै भएको अन्य खेलमा न्युक्यासलले बर्नलीमाथि ३-१ को जित हासिल गर्‍यो । एभर्टनले नटिङघहम फरेस्टलाई २-० ले हराउँदा वेस्ट ह्याम र ब्राईटनले २-२ को बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *