नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (बुधबार) हुने एलिमिनेटर खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा आज अपराह्न ४ बजे सुरु हुनेछ । काठमान्डु अंकतालिकामा तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर एलिमिनेटरमा भिड्न लागेका हुन् ।
यो खेल जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा सुदूररपश्चिम रोयल्ससँग ७७ रनले पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो ।
आज एलिमिनेटरमा हार्ने टोली भने उपाधि दौडबाटै बाहिरिनेछ। आजको खेलमा काठमान्डु र लुम्बिनी दुवै जित्ने प्रयासमा हुनेछन् ।
लिग चरणमा भएको भेटमा काठमान्डुले लुम्बिनीलाई २२ रनले हराएको थियो । पहिलो खेल जितेको लुम्बिनीले त्यसपछिका तीन खेल लगातार हारेको थियो । तर लुम्बिनी त्यसपछिका तीन खेल लगातार जित्दै तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको थियो ।
लिग चरणका सात खेलमध्ये चारमा जित र ३ मा हार गर्दै ८ अंकसहित चौथो स्थानमा रहेर लुम्बिनी आज एलिमिनेटर खेल्न लागेको हो । यता काठमान्डु ५ खेलमा जित र २ खेलमा हार भोग्दै १० अंकसहित तेस्रो स्थानमा रहेर एलिमिनेटर खेल्न लागेको हो। विराटनगरको जत्तिकै १० अंक भए पनि नेट रनरेटमा पछि पर्दै काठमान्डु तेस्रो स्थानमा झरेको थियो ।
