पथरी (मोरङ) । सिरहाको सलहेश युवा क्लब अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी पथरीशनिश्चरे गोल्डकप २०८२ को फाइनलमा पुगेको छ ।

बुधबार पथरी रंगाशाला पहिलो सेमिफाइनल खेलमा पाँचथर क्लबलाई ४-१ ले पराजित गर्दै सलहेश उपाधि नजिक पुगेको हो ।

सलहेशको जितमा रोहन कार्की, रोमन भुजेल र कोमल खवासले समान एक-एक गोल गरे । पाँचथरका लागि अभिषेक लिम्बु गोल फर्काए ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सबै गोल दोस्रो हाफमा भएको थियो । खेलको दोस्रो हाफको २६औं मिनेटमा रोहन कार्कीले गोल गर्दै सलहेशलाई सुरूआती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट पछि नै अभिषेक लिम्बुले पाँचथरका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफको ३६औं मिनेटमा रोमन भुजेलले गोल गर्दा सलहेश २-१ ले अघि बढ्यो । दुई मिनेट बित्न नपाउँदै रोहन कार्कीले ब्यक्तिगत दोस्रो तथा सलहेशका लागि तेस्रो गोल गरे । खेलको अन्तिम समयमा कोमल खवासले गोल गर्दै सलहेशलाई ४-१ को सहज जित दिलाए ।

खेलको म्यान अफ दि म्याच सलहेशका दुई गोलकर्ता रोहन कार्की घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बिहिवार हुने दोस्रो सेमिफाइनल खेल एनआरटी र आयोजक इन्ट्रा पथरी-११ फुटबल क्लबबीच हुनेछ । कार्तिक २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *