शिवसताक्षी (झापा) । संकटा फुटबल क्लब एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार शिवसताक्षीस्थित दूधे रंगशालामा भएको तेस्रो क्वार्टरफाइनल खेलमा घरेलु टोली झापा एफसीलाई ६–० गोल अन्तरले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो ।

संकटाको जितमा पुर्णिमा राईले दुई तथा सेनु परियार, समिक्षा मगर, अरुणा स्याङत्याङ र भुटानी खेलाडी छिरिङ वांग्देनले समान एक-एक गोल गरे ।

खेलको २३औं मिनेटमा सेनुको गोलमा संकटाले अग्रता लिएको थियो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा समिक्षाले गोल गर्दा संकटाले पहिलो हाफमा २-० को अग्रता लियो ।

दोस्रो हाफमा संकटाले थप चार गोल गर्यो । संकटाका लागि छिरिङले ५५औं, पूर्णिमाले ६०औं तथा ८३औं र अरुणाले खेलको अन्तिम मिनेटमा गोल गरे ।

खेलको प्लेयर अफ द म्याच दुई गोलकर्ता पूर्णिमा राई घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।

बिहिवारको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी फूटबल क्लब र आरएस पोखरा एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

कुल ८ टोली सहभागी प्रतियोगिताको विजेताले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *