मोरङको कटहरी गाउँपालिका वडा नम्बर ५ द्वारा आयोजित चौथो वडा अध्यक्ष कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि दुर्गा युवा क्लबले जितेको छ ।

कटहरी गाउँपालिका वडा नं ५ स्थित दुर्गा मन्दिरको खेल मैदानमा आइतबार भएको फाइनलमा बनसखण्डी युवा क्लबलाई ५-२ गोलले पराजित गर्दै नवदुर्गाले उपाधि हात पारेको हो ।

नवदुर्गाको जितमा भुवन बस्नेतले २ तथा निवास फुयाल, मिजास लिम्बू र दिलबहादुर तामाङले १-१ गोल गरे । बनसखण्डीका लागि दुबै गोल अभिनास खवासले गरे ।

फाइनल खेलको म्यान अफ द म्याच नवदुर्गाका भुवन बस्नेत घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक बनसखण्डीका सुमन रिशिदेव चुनिए ।

उपाधिसँगै नवदुर्गाले नगद ७५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनसखण्डीले नगद ५१ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथी कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चाधरी, बिशिष्ट अतिथी कटहरी गाउँपालिकाका उपाध्यक्ष सितादेवी राजवंशी, अतिथि कटहरी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष विशो सरदार र वडा नं ७ का अध्यक्ष मनोज कुमार माझी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कटहरी गाउँपालिका वडा नं ५ का अध्यक्ष सम्पतलाल सरदारको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा नेकपा एमाले मोरङ जिल्ला कमिटि सचिवालय सदस्य सुवास कुमार सरदार, नेकपा एमाले प्रदेश कमिटि सदस्य जितनारायण सरदार र नेकपा एमाले जिल्ला कमिटी सदस्य मुकेश बुढाथोकीको उपस्थिति रहेको थियो ।

भाद्र १० गतेदेखि सुरु भएको नकआउट प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको प्रतियोगिताका संंयोजकद्वय किशनलाल सरदार र शिवनारायण सरदारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *