काठमाडौं । जापानका पूर्व फुटबल खेलाडी ताडा टिपटो स्पोर्ट्स हबको उद्घाटनका लागि नेपालमा आएका छन् । हबको उद्घाटन सोमबार (घटस्थापना) का दिन हुनेछ ।

शुक्रबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका ताडालाई टिपटो स्पोर्टस एकेडेमीका सिइओ सुवार न्यौपानले र अबध्यक्ष गौरव बस्नेतले स्वागत गरेका थिए ।

सोही अवसरमा ताडाले टिपटो स्पोर्टस एकेडेमीसँगको सहकार्यका लागि सम्झौता गर्नेछन् । ताडाले हाल थाइल्यान्डमा सिली स्पोर्टस क्लब सञ्चालन गरिरहेका छन् ।

गोलकिपर ताडाले जापानको यु-१५ देखि २३ सम्मको राष्ट्रिय टिमको प्रतिनिधत्व गरेका छन् । यसैगरी उनले जापानी टोलीबाट ओलम्पिकमा पनि सहभिागता जनाइसकेका छन् ।

उनको भ्रमणले नेपाल र अन्तर्राष्ट्रिय एकेडेमीबीच खेलकुद कूटनीतिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको छ । सम्झौतामा नेपाल र अन्तर्राष्ट्रिय एकेडेमीबीच खेलाडी आदान-प्रदान कार्यक्रम, प्रशिक्षक शिक्षा कार्यक्रममार्फत आधुनिक प्रशिक्षण विधि आदान-प्रदान, एकेडेमी खेलाडीका लागि फुटबल क्लिनिक सञ्चालन, एकेडेमिका लागि खेल सामग्री तथा आवश्यक सहयोग प्रदान, हरेक वर्ष थाइल्यान्डमा हुने एसियन च्याम्पियनसिपमा सहभागी हुने अवसर लगायतका बुँदा समावेश हुनेछन् ।

उनले नेपाल बसाइको क्रममा टिपटो स्पोर्टस एकेडेमी हब अवलोकन गर्ने, प्रशिक्षण सत्र हेर्ने र खेलाडी तथा प्रशिक्षकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

ताडाको आगमनसँगै टिपटपले अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने, नेपाली युवा खेलाडीलाई थप अवसर दिलाउने तथा ग्रुरुट फुटबललाई बलियो बनाउने आपेक्षा राखेको छ ।

गत जनवरीमा टिपटो स्पोर्टस एकेडेमीले थाइल्यान्डमा भएको एसियन च्याम्पियनसिपको यु-१२ र १४ उमेर समूहमा सहभागिता जनाइ फेयर प्ले ट्रफी जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *