काठमाडौं । प्रिमियर आईबी कन्टिनम स्कुलले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा भएको फाइनलमा प्रिमियरले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ७९-७२ ले पराजित गर्यो ।
समूह चरणको खेलमा पनि प्रिमियरले सीसीआरसीलाई हराएको थियो। अपराजित रहँदै उपाधि जितेको प्रिमियरका लागि अश्विन चालिसे एक्लैले ३२ अंक जोडे। पहिलो क्वाटरमा १९-१४ को अग्रता लिएको प्रिमियर दोश्रोमा २०-२२ ले पछि पर्यो। प्रिमियरले तेश्रो क्वाटरमा २३-१० को अग्रता बनाउदै जितको आधार खडा गर्यो । चौथोमा सीसीआरसी २६-१७ ले अगाडि रहेपनि जितका लागि पर्याप्त भएन ।

उपाधिसँगै प्रिमियरले २५ हजार तथा उपविजेता सीसीआरसीले १० हजार नगद पुरस्कार पाए । अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजना भएको प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ता अश्विन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। उनले ५ हजार नगद पुरस्कार हात पारे । सीसीआरसीका आशालाल श्रेष्ठ उदीयमान खेलाडी चुनिए ।
विजेतालाई नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसन, अबाइडका प्रबन्ध निर्देशक मनीष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत आशिष श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । रोयल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा भएको प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक नृपेश श्रेष्ठले जनाएका छन् ।
