ललितपुर । एन्फा राष्ट्रिय महिला लिग छनोटमा संकटा क्लबले विजयी सुरुआत गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बिहिवार भएको दोस्रो खेलमा संकटाले नेपाल खेलकुद क्लबमाथि १-० को कठिन जित निकालेको हो ।

जितसँगै संकटाले तीन अंक जोडेको छ । संकटाको जितमा यशोदा शाहीले ६०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

आजै सम्पन्न उद्घाटन खेलमा छहारी क्लबले एफसी रियललाई ३-० ले पराजित गरेको थियो । छहारीलाई जित दिलाउन ललिता मण्डल, सुमित्रा सिंह पाख्रिन र सानिमाया लोले गोल गरे ।

छनोट प्रतियोगितामा १४ टोलीको सहभागिता छ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । प्रतियोगिताबाट कुल पाँच टोली एन्फा महिला लिगका लागि छनोट हुनेछन् ।

सिंगल राउन्ड रोबिनपछि दुवै समूहको शीर्ष स्थानमा रहने टोलीले महिला लिगमा स्थान बनाउने छ । तेस्रो स्थानमा रहने दुई टोलीबीच प्लेअफ खेल खेलिने छ । उक्त खेलको विजेता टिम पनि महिला लिगमा छनोट हुनेछ ।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड एफसी, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल र एफसी रिएले छन् । 

समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् ।

लिग अन्तर्गत शुक्रवार पनि दुई खेल हुनेछन् । पहिलो खेल राप्ती एफसी र आरएस रिसोर्ट एन्ड बिच भिड्नेछन् भने दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *