काठमाडौँ । जेभियर इन्टरनेसनल कलेज र प्रिमियरले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा आइतबार लगातार तेश्रो जित हात पारेका छन् । अपराजित दुवैले समान ३-३ खेल खेलेका छन् ।
सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा भएको खेलमा जेभियरले गोल्डेनगेट इन्टरनेनसल कलेज ‘ए’ लाई ६५-४४ ले पराजित गर्यो । जेभियरका साइरस थापा मगरले १५ अंक जोडे । २ खेलमा गोल्डेनगेट ‘ए’ को लगातार दोश्रो पराजय हो ।
प्रिमियरले टाइम्स इन्टरनेसनल कलेजलाई ५२-४५ ले हरायो। प्रिमियरका अश्विन चालिसेले २२ स्कोर गरे । टाइम्सले पनि ३ खेल खेलेमा एकमा जित हात पारेको छ । अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगितामा सीसीआरसी, कन्जिरोवा र बर्नहार्टले जित निकाले ।
सीसीआरसीले गोल्डेनगेट ‘बी’ लाई ५१-४१ ले पाखा लगाउदै लगातार दोश्रो जित हात पार्यो । सीसीआरसीका आशलाल श्रेष्ठले १५ अंक बटुले । ३ खेल खेलीसकेको गोल्डेनगेट ‘बी’ सबैमा चुकेको छ ।
कान्जिरोवाले मल्पीमाथि ४४-३४ को जित दर्ता गर्यो । २ खेलमा पहिलो जित हात पारेको कान्जिरोवाका मनीषले २४ स्कोर गरे । २ खेलमा मल्पीको दुवैमा पराजित छ । बर्नहार्टले पुष्पसदनलाई ५५-४० ले पन्छायो ।
