काठमाडौँ । जेभियर इन्टरनेसनल कलेज र ग्रिनफिल्डले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेका छन् ।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलमा भएको खेलमा जेभियरले कान्जिरोवालाई ५८-३४ ले पराजित गर्यो । जेभियरको जितमा कुशल गुरुङले १२ अंक योगदान गरे ।

पहिलो क्वाटरमा ६-१२ ले पछि परेको जेभियरले बाँकीमा अग्रता बनाउदै जित सुनिश्चित गर्यो । जेभियरले दोश्रोमा २४-६, तेश्रोमा १४-८ र चौथोमा १४-८ स्कोर गर्यो ।

सशान्त कार्कीको २१ अंक सहयोगमा ग्रिनफिल्डले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’ लाई ६३-५१ ले हरायो । पहिलो र दोश्रो क्वाटरमा १६-१५ र १८-११ को अग्रता लिएको ग्रिनफिल्ड तेश्रोमा ८-१३ ले पछि पर्यो । ग्रिनफिल्डले चौथो क्वाटरमा २१-१२ को स्कोर गर्दै जित निकाल्यो ।

अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगितामा बर्नहार्ट र प्रिमियरले पनि जितका साथ यात्रा प्रारम्भ गरे । बर्नहार्टले टाइम्स इन्टरनेसनल कलेजमाथि ५६-४६ को जित दर्ता गर्यो । बर्नहार्टका अनिश गुरुङले १७अंक बटुले । बर्नहार्टले पहिलो क्वाटरमा २१-१५ र दोश्रोमा १२-१० को अग्रता लियो । तेश्रो क्वाटरमा ११-१२ को झीनोअन्तरले पछि परेको बर्नहार्टले चौथोमा १२-९ को प्रदर्शन गर्यो ।

प्रिमियरले गोल्डेनगेट ‘बी’ लाई ५३-३० ले पाखा लगायो । प्रिमियरका अश्विन चालिसेले २१ स्कोर गरे । प्रिमियरले पहिलोमा २१-४ र दोश्रोमा ११-८ अंक जोडे । तेश्रो क्वाटर ११-११ को बराबरी भयो भने चौथोमा प्रिमियर १०-७ ले अगाडि रह्यो ।

प्रतियोगिताको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । ११ टिम सहभागी प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ । रोयल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा भइरहेको प्रतियोगिताको फाइनल भदौ ६ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *