काठमाडौं । आयोजक ग्रिनल्यान्ड आवासीय माविले १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार विजयी शुरूवात गरेको छ । ग्रिनल्यान्ड सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गर्ल्समा जित हात पार्न सफल भयो ।
धापासीस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा ग्रिनल्यान्डले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई ३६-३२ ले पराजित गर्यो । ग्रिनल्यान्डका रोहित अधिकारीले १४ अंक जोडे।
सिनियर ब्वाइजमै टीआईएले स्किब्सलाई ५९-४९, गोल्डेनपिकले क्यान्भास बसन्त ऋतुलाई ५६-२५ र भद्रकालीले रिलायन्स पब्लिकलाई ३५-३४ ले हराए । टीआईएका रोसन नगरकोटीले १८, गोल्डेनपिकका पेम्बा तेन्जिङ शेर्पाले १४ र भद्रकालीका सुदिप श्रेष्ठले २६ स्कोर गरे ।
सिनियर गर्ल्समा ग्रिनल्यान्डले नव दीक्षितलाई २५-१४, क्यान्भासले ज्ञान संस्कारलाई २२-१७ र बेलमोन्टले टीआईएलाई १७-१३ ले पाखा लगाए । ग्रिनल्यान्डकी प्रियंका चन्दले ८, क्यान्भासकी सिजुका देउलाले १० र बेलमोन्टकी समिक्षा मगरले ९ अंक जोडिन् ।
जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीलाई २३-६, गोल्डेनपिकले जेबी स्कुललाई १६-१५, रिलायन्स पब्लिकले ज्ञान संस्कारलाई १९-८२ एन्जल्स हार्टले फ्युजन एकेडेमीलाई २९-२२ ले पन्छाए । ग्रिनल्यान्डका बियोन गुरुङले ९ तथा गोल्डेनपिकका फुर्वा शेर्पाले ८ अंक जोडे ।
प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ र सह-प्रचार्य विनोद घिमिरेले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । दसदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्समा समान १६-१६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
