ताप्लेजुङ । सिराहाको सलहेश युवा क्लब ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा बिहिवार भएको दोस्रो सेमिफाइनलमा झापाको रेड स्टार फुटबल क्लबलाई २-० गोलले पराजित गर्दै सलहेश उपाधि नजिक पुगेको हो ।
सलहेशलाई जित दिलाउन विदेशी खेलाडी युसुफ मलिकले दुबै गोल गरे । उनले खेलको १३औं र ४८औं मिनेटमा गोल गरेका थिए । आजको दुई गोलसँगै युसुफ गोल्डकपमा सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा पुगेका छन् ।
खेलको म्यान अफ दि म्याच पनि युसुफ नै घोषित भए । उनले नगद सात हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पहिलो खेलमा पनि दुई गोल नै गरेका युसुफ दोस्रोपटक म्यान अफ दि म्याच चुनिएका हुन् ।
सलहेश गत संस्करणको उपविजेता टोली हो । गत संस्करणमा सलहेश मोरङको सगरमाथा युथ क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
अब सलहेशले शनिबार उपाधिका लागि ललितपुरको चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । लाखे जात्रा संचालन समितिले आयोजना गरेको प्रतियोगितामा कुल आठ टिमको सहभागीता रहेको थियो ।
प्रतियोगिताको उपाधि विजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । साथै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
