ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि शुरु भएको तेश्रो संस्करणको ताप्लेजुङ गोल्डकपमा द योङ स्पोर्टिङ क्लब इटहरीले विजयी सुरुवात गरेको छ ।
ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा घरेलु टोली तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलले पराजित गर्दै इटहरीले सेमिफाइनलको यात्रा तय गरेको हो ।
इटहरीका लागि निरज खड्का र योगेन राईले गोल गरे । तेल्लोकका लागि एक मात्र गोल सञ्जय श्रेष्ठले गरे । खेलमा अग्रता भने घरेलु टोली तेल्लोकले लिएको थियो । खेलको पहिलो हाफको २६औं मिनेटमा सञ्जयले गोल गर्दै घरेलु टोली तेल्लोकलाई अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफको ७०औं मिनेटमा निरजले इटहरीका लागि बराबरी गोल फर्काए । ७४औं मिनेटमा योगेनले गरेको गोल इटहरीका लागि निर्णायक बन्यो ।
खेलको म्यान अफ दि म्याच इटहरीका निरज खड्का घोषित भए । उनले नगद सात हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत आइतबारको खेल सहारा क्लब पोखरा र रेडस्टार क्लब झापाबीच हुनेछ ।
लाखे जात्रा संचालन समितिले आयोजना गरेको प्रतियोगितामा कुल आठ टिम सहभागी छन् । प्रतियोगिताको उपाधि विजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । साथै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ ।
