ललितपुर । थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा यहि साउन १९ गते (शनिबार) देखि नेपाल स्कुल फुटबल यु-१८ लिग (एनएसएफएल) सुरु हुने भएको छ । प्रतियोगिता आयोजककै मैदान ललितपुरको धापाखेलस्थित थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरमा सञ्चालन हुनेछ ।
यस लिगमा राजधानीका प्रतिष्ठित आठ स्कुल टिमहरूको प्रतिस्पर्धा रहनेछ । प्रतियोगितामा कान्जिरोवा स्कुल, जेम्स स्कुल, डिएभी स्कुल, चेल्सी वर्ल्ड स्कुल, लिटल एन्जल्स स्कुल, रातो बंगला स्कुल, काठमाडौं वर्ल्ड स्कुल र युलेन्स स्कुल सहभागी हुने पक्का भएको छ ।
प्रतियोगिता राउण्ड रोबिन फर्म्याटमा हुनेछ । जसअनुसार सबै टोलीहरूले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । लिग चरणपछि शीर्ष चार टोलीले प्ले अफ चरणमा स्थान बनाउने छन् । आयोजक संस्था थन्डरबोल्ट्सका कार्यकारी निर्देशक वरुण खड्काका अनुसार विजेता टिमले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ, जुन अहिलेसम्मको स्कुल स्तरको फुटबलमा सबैभन्दा ठूलो पुरस्कार हो ।
त्यस्तै, उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। व्यक्तिगत विधामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । जसमा उत्कृष्ट गोलक, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई समान ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर फुटबल मात्र होइन, स्विमिङ, टेनिस, फुटसल र ई-स्पोर्ट्स लगायतका गतिविधिमा समेत नियमित प्रशिक्षण दिइरहेको संस्था हो । संस्थाका अनुसार निकट भविष्यमा क्रिकेट कार्यक्रम पनि सुरु गर्ने तयारी भइरहेको छ । जसले स्कुलस्तरीय खेल गतिविधिमा अझ व्यापकता ल्याउने अपेक्षा गरिएको छ ।
