काठमाडौं । जेभियर्स पब्लिक स्कुलले दोस्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेको छ ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा काठमाडौं जेभियर्सले वेब्सलाई ६०-३१ ले सहजै पराजित गर्यो । विजेताका सुवर्ण भुजेलले २२ अंक जोडे ।
सिनियर ब्वाइजमै नेमोनिक मोर्डन एकेडेमीले विट्स एकेडेमीलाई २५-१३, एम्बासडरले इस्टपोललाई ४०-१३ र सर्वनम शिक्षालयले बाल संसारलाई ४३-१८ ले हराए। नेमोनिकका करण राईले १०, एम्बसडरका विसन खड्काले २४ र सर्वनम शिक्षालयका निग्मा शेर्पाले १४ स्कोर गरे ।
सिनियर गल्समा बागमती बोर्डिङ स्कुलले भेनस पब्लिकलाई १३-८, योङ हार्ट्स एकेडेमीले विट्स एकेडेमीलाई १३-६, बाल संसारले इस्टपोललाई १०-२ र लर्डस् लाइट एकेडेमीले सीसीएसलाई १६-१४ ले पाखा लगाए । बागमतीकी स्मृति पोखरेलले ४, योङ हार्ट्सकी प्राश्ना केसीले ६, बाल संसारकी विपसना गिरीले ४ र लर्डस् लाइटकी डोमी शेर्पाले ६ अंक बटुले ।
