चर्च ब्वाइज युनाइटेड ललितपुर तेश्रो संस्करणको ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा भारत सिलिगुडीको लिजेण्ड फुटबल एकेडेमीलाई १–० गोलले पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको हो ।

चर्च ब्वाइजलाई जित दिलाउन मनिष जर्गा मगरले निर्णायक गोल गरे । उनले खेलको १०औं मिनेटमा गोल गरेका थिए । लिजेण्डका एक खेलाडीले रेड कार्ड पाएपछि लिजेण्ड १० खेलाडीमा समेटिएको थियो ।

खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका गोलरक्षक विश्वास चौधरी चुनिए । उनले नगद सात हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत मंगलबारको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल सलहेश फुटबल क्लब सिराहा र फिदिम स्पोर्टिङ क्लबबीच हुनेछ ।

लाखे जात्रा संचालन समितिले आयोजना गरेको प्रतियोगितामा कुल आठ टिम सहभागी छन् । प्रतियोगिताको उपाधि विजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । साथै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *