एन्फा यु-१६ युथ लिगमा सोमबार सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लब विजयी भएका छन् ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको दिनको पहिलो खेलमा मच्छिन्द्र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ५-० गोलले हरायो । मच्छिन्द्रलाई जित दिलाउन अर्जुनबहादुर कढायतले दुई तथा प्रज्ञान राई, हिमाल थिङ र विकास थापाले गोल समान एक गरे ।
जितसँगै ९ खेलमा २० अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा उक्लिएको छ । पराजित आर्मी समान खेलबाट ६ अंकका साथ १२औं स्थानमा छ ।
यस्तै दोस्रो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई ३-१ ले पराजित गर्यो । मनाङको जितमा ईश्वर दमाइ परियार, शिओम श्रेष्ठ र साकिन कुँवरले समान एक-एक गोल गरे । जावलाखेलका लागि पुजन सुनारले एक गोल फर्काए ।
जितसँगै ९ खेलमा २० अंक जोडेको मनाङ तेस्रो स्थानमा उक्लिएको छ । पराजित जावलाखेल समान खेलबाट १० अंकका साथ नवौं स्थामा छ ।
दिनको तेस्रो तथा अन्तिम खेलमा शेर्पाले सातदोबाटो युथ क्लबलाई १-० गोलले हरायो । शेर्पालाई जित दिलाउन अभी राईले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
जितसँगै ९ खेलमा १४ अंक जोडेको शेर्पा आठौं स्थानमा छ । ९ वटै खेलमा पराजित सातदोबाटो अंकविहिन छ ।
