लगातार दोश्रो पटक तिरहुत टाइगर्सले मेयर कप सप्तरी प्राइड लिगको उपाधि जितेको छ । बिहिबार सम्पन्न प्रतियोगिताको सातौं संस्करणको फाइनलमा टाइगर्सले राजविराज राजदेवी रोयललाई ९ विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।
सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा ९३ रनको सामान्य लक्ष्य पाएको तिरहुत टाइगर्सले १५. ३ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
टाइगर्सका ओपनर भोला शाहले अविजित अर्धशतक बनाउदै जितमा अहम योगदान दिए । उनले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । भोलाले दोश्रो विकेटको लागि निरज यादवसंग अविजित ७९ रनको साझेदारी गरे । निरजले अविजित १८ रन बनाउदा अभिनाश कर्णले १३ रन योगदान दिए । रोयलका नितेश यादवले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिंग गरेको राजविराज राजदेवी रोयलले २० ओभरमा ९ विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो । रोयलको लागि रोहन विकले सर्वाधिक २३ रन योगदान दिए । यस्तै अभिषेक तिवारीले १९ तथा जितु यादवले अविजित १८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
टाइगर्सको बलिंगतर्फ श्रवन यादवले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा ३२ रन खर्चिए । यस्तै चित्र बहादुर बिस्ट र अनिल यादवले २/२ विकेट लिए भने राहुल मण्डल र अजय यादवको नाममा १/१ विकेट रह्यो ।
सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको उपाधि सहित विजेता तिरहुत टाइगर्सले २ लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता राजविराज राजदेवी रोयलले १ लाख रुपैयाँ पायो ।
प्रतियोगिताकै उत्कृस्ट खेलाडी राजविराज राजदेवी रोयलका दिवान पुन घोषित भए जसले २५ हजार रुपैयाँ पाए । प्रतियोगिता भर उनले ४ खेलमा १०१ रन बनाउनुको साथै ६ विकेट पनि लिए ।
यस्तै उत्कृस्ट ब्याटर ४ खेलमा १३८ रन बनाएका तिरहुत टाइगर्सका भोला शाह घोषित भए भने उत्कृस्ट बलर पनि ४ खेलमा १३ विकेट लिएका टाइगर्सकै चित्र बहादुर बिस्ट भए । उत्कृस्ट ब्याटर र बलरले समान १५ हजार रुपैयाँ पाए । प्रतियोगिताको उदयमान खेलाडी रोयल तिरहुत टाइगर्सका अनिल यादव घोषित भए ।
८ दिन संचालन भएको प्रतियोगितामा सप्तरी जिल्लाका ८ टिम सहभागी थिए ।
