एन्फा यु-१६ युथ लिगमा शुक्रबार सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको दिनको पहिलो खेलमा आर्मीले सातदोबाटो युथ क्लबलाई ३-१ ले हरायो । आर्मीलाई जित दिलाउन निरज अधिकारी, युजल भण्डारी र सोहित वाइबाले गोल गरे । सातदोबाटोका लागि मुक्सन राईले गोल गरे ।

जितसँगै आठ खेलमा ६ अंक जोडेको आर्मी ११औं स्थानमा उक्लिएको छ । आठ वटै खेलमा पराजित सातदोबाटो अंकविहिन छ ।

यस्तै दोस्रो खेलमा मनाङले हिमालयन शेर्पा क्लबलाई ४-२ ले पराजित गर्यो । मनाङलाई जित दिलाउन प्रकाश सिंहले दुई तथा रोहन थापामगर र सन्देश तामाङले समान एक-एक गोल गरे । शेर्पाका लागि जेनील सुब्बा र संगे शेर्पाले गोल गरे ।

जितसँगै आठ खेलमा १७ अंक जोडेको मनाङ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित शेर्पा समान खेलबाट १० अंकका साथ आठौं स्थानमा छ ।

दिनको तेस्रो तथा अन्तिम खेलमा पुलिसले श्री भगवती क्लबलाई ३-० ले हरायो । पुलिसलाई जित दिलाउन दिप्सन पाण्डेले दुई तथा समीर कुमारले गोल गरे ।

जितसँगै पुलिसले लिगमा अपराजित यात्रा कायम राखेको छ । पुलिस आठ खेलबाट २२ अंकका साथ लिगको शीर्ष स्थानमा यथावत छ । पराजित भगवती समान खेलबाट ६ अंकका साथ ११औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *