विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा मंगलबार तीन विद्यालय विजयी भएका छन् ।

विराटनगर–१ स्थित परोपकार खेल मैदानमा भएको तेस्रो दिनको खेलमा सनसाइन सेकेण्डरी बोर्डिङ स्कुल, नरग्राम मावि र बाल आदर्श स्कुल विजयी भएर दोस्रो चरणमा पुगेका हुन् ।

पहिलो खेलमा सनसाइन सेकेण्डरी बोर्डिङ स्कुलले एजेलियाले बोर्डिङ स्कुललाई १-० गोलले स्तब्ध बनायो । सनसाइनलाई जित दिलाउन अभय सहनीले निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच सोही स्कुलका अनिश खड्का घोषित भए ।

त्यसैगरी दोस्रो खेलमा नरग्राम माविले किसान मावि दादरबेरियालाई ५-० गोलले पराजित गर्यो । नरग्रामको तर्फ बाट राम बस्नेतले ३ गोल गर्दै ह्याट्रिक पूरा गरे भने नवादित दर्नालले २ गोल गरे । खेलको म्यान अफ दि म्याच ह्याट्रिक गोलकर्ता राम बस्नेत घोषित भए ।

आजै भएको तेस्रो तथा अन्तिम खेलमा बाल आदर्श स्कुलले खनार सनसाईन स्कुललाई ३-१ ले पाखा लगायो । बाल आदर्शका लागि प्रिन्स राम, शाहिद चौधरी र सुमन चौधरीले समान १-१ गोल गरे । खनार सनसाईनका लागि आकाश सरदारले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच बाल आदर्शका सुमन चौधरी घोषित भए ।

प्रतियोगिताअन्तर्गत भोलि बुधबार ४ खेल हुनेछन् । भोलिको पहिलो खेलमा अर्पण बोर्डिङ स्कुल र विराट शिक्षा निकेतन, दोस्रो खेलमा दर्पण बोर्डिङ स्कुल र दिल्ली पब्लिक स्कुल, तेस्रो खेलमा स्मृति बोर्डिङ स्कुल र युनिक एकेडेमी बुढीगंगा तथा चौथो खेलमा शारदा बोर्डिङ स्कुल इटहरी र वीरेन्द्र मावि लखनतरी भिड्नेछन् ।

वडा नम्बर १ कार्यालय विराटनगर महानगरपालिकाको सह आयोजनामा तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्रायोजनमा चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड कप फुटबल प्रतियोगिता आईतबारबाट सुरु भएको हो । प्रतियोगितामा मोरङ र सुनसरी गरी कुल ३९ विद्यालयको सहभागिता रहेको छ र फाइनल खेल असार २० गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्पोर्टी साइकल प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *