इटालियन क्लब इन्टर मिलान युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टरले स्पेनिस क्लब बार्सिलोनालाई ४-३ ले पराजित गर्दै इन्टरले समग्रमा ७-६ को जित हात पारेको हो ।

सान सिरोमा घरेलु टोली इन्टरलाई जित दिलाउन लौटारो मार्टिनेज, हाकान चाल्हानोलु, फ्रान्सेस्को अकार्बी र डेविड फ्राटेसीले गोल गरे । बार्सिलोनाका एरिक गार्सिया, ड्यानी ओल्मो र राफिन्हाले गोल गरे ।

बार्सिलोनाले पहिलो हाफमा २–० ले पछि परेको स्थिती उल्ट्याउँदै निर्धारित ९० मिनेटसम्म ३–२ को अग्रता बनाएको थियो । तर, इन्जुरी समयमा अकार्बीले गोल गर्दै इन्टरलाई बराबरीमा फर्काएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा इन्टरका फ्राटेसीले निर्णायक गोल गरे ।

त्यसअघि २१औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रतामा राखेका थिए । ४५औं मिनेटमा चाल्हानोलुले पेनाल्टी सदुपयोग गरेपछि इन्टरले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

तर, ५४औं मिनेटमा गार्सिया र ६०औँ मिनेटमा ओल्मोले गोल गर्दै बार्सिलोनालाई बार्सिलोनालाई दोस्रो हाफमा सुरुआतमै पुनरागमन गराएका थिए । ८७औं मिनेटमा राफिन्हाले गोल गरेपछि बार्सिलोनाले ३–२ को अग्रता बनाएको थियो । बार्सिलोनाको यो अग्रतालाई अकार्बीले इन्जुरी समयमा बराबरीमा फर्काए ।

यस्तै, ९९औं मिनेटमा फ्राटेसीले टिमबाट चौथो गोल गरेपछि इन्टर नाटकीय जितसहित फाइनलमा प्रवेश गरेको हो । इन्टरले समग्रमा ७–६ को जित निकालेको हो । यसअघि यी दुई टिमबीचको पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो ।

इन्टरले अब उपाधिका आर्सनल र पेरिस सेन्ट जर्मन (पिएसजी) बीचको विजेतासँग भिड्ने छ । आर्सनल र पिएसजीबीचको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आज (बुधबार) राति पिएसजीको घरेलु मैदानमा हुनेछ ।

पहिलो लेग पिएसजीले १-० ले जितेको थियो । फाइनल मे ३१ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *