साफ यू-१९ पुरुष च्याम्पियनसिप २०२५ खेल्न भारत जाने नेपाली फुटबल टोलीको बिदाई गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाई गरेको हो ।
कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायतले राम्रो प्रदर्शन गर्दै उपाधि जित्न शुभकामना दिदै नेपाली टोलीलाई बिदाई गरे। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको नेतृत्वमा नेपाली टोलीले यस सिजनको साफ खेल्न लागेको हो ।
साफ यु-१९ च्याम्पियनसिप मे ९ देखि १८ सम्म भारतमा हुदैछ । जसमा ६ टोली सहभागी हुनेछन् । नेपालले श्रीलंकासँग खेल्दै साफ यु-१९ च्याम्पियनसिप २०२५ को शुरुवात गर्नेछ ।
समूह ‘बी’ अन्तर्गतको नेपाल र श्रीलंकाबीचको खेल मे ११ मा हुनेछ । भारतको अरुणाञ्चल प्रदेशस्थिग गोल्डेन जुब्ली रशंगशालामा हुने यो खेल नेपाली समयानुसार बेलुकी ७:४५ मा शुरु हुनेछ । नेपालले दोश्रो खेल मे १३ मा घरेलु टोली भारतसँग खेल्ने छ ।
प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र माल्दिभ्स भिड्ने छन् । साफ यु-२० को रुपमा भएको यो प्रतियोगिताको गत संस्करणमा नेपाल उपविजेता बनेको थियो । घरेलु मैदानमै भएको गत संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग ४-१ गोल अन्तरले पराजित भएको थियो ।
सन् २०१५ र २०१७ गरि नेपालले अहिलेसम्म दुई पटक यो प्रतियोगिताको उपाधि जितेको छ । गत संस्करण पनि नेपाली टोलीको जिम्मेवारी प्रशिक्षक उर्जनले नै सम्हालेका थिए ।
नेपाली टोली:
गोलकिपरः भक्तबहादुर परियार, विशेष बानियाँ, उपेन्द्र लवान
डिफेन्डरः रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, सिद्धान्त खड्का
मिडफिल्डरः कृष्णबहादुर आले, कृष थापामगर, सरोज दर्लामी, लच्छु थापा, सविनकुमार लुंगेलीमगर, रञ्जित लामा, पवन पाख्रिन, विज्ञान खड्का
फरवार्डः सुवास बम, धर्मेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ, विजय उर्वा
