बिभागीय टोली नेपाल पुलिस क्लब मकवानपुरको हेटौँडामा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार हेटौँडा– ६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा भएको खेलमा रौतहटको महिला टिमलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा पुलिसका लागि रेविका पाण्डे, निरु थापा, उषा नाथ र सरु वाईबाले गोल गरे । यस्तै, पुलिसकी गिमकुमारी गुरुङको प्रहार भने बाहिरिएको थियो।

रौतहटका लागि सविना चौधरी र सलोनी राना गरिन् भने मनिषा श्रेष्ठ र अञ्जली चन्दकी प्रहार पुलिसकी गोलरक्षक उषा नाथले बचाउ गरिन् । खेलको प्लेयर अफ दि म्याच पुलिसकी गोलरक्षक उषा नाथ घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

यो सँगै पुलिस गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । पुलिसले सेमिफाइनलमा चितवनसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि आयोजक मकवानपुरलाई हराउँदै चितवन सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगितामा सोमवार एपिएफ र वीरगंज युथ एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टिमको सहभागिता छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ । हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *