नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ ।
बिहीवार भएको प्रिमियर लिगको खेलमा नटिङ्घम फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो ।
नटिङ्घमको घरेलु मैदानमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो ।
केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाए । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको अग्रता दोब्बर बनाए ।
त्यपछी दुबै टोलीबाट गोल हुन नसक्दा ब्रेन्टफोर्ड २-० ले विजयी भयो ।
यो हारपछि फरेस्टले अंकतालिकाको तेस्रो स्थानमा उक्लिने मौका गुमायो र छैठौं स्थानमै रह्यो । टोली गोल अन्तरका आधारमा समान ६० अंक भएको चेल्सीभन्दा पछाडि छ ।
४९ अंकसहित ब्रेन्टफोर्ड ११औं स्थानमै छ । तर आठौं स्थानमा रहेको फुलह्यामभन्दा मात्र २ अंकले पछि छ। लिगको उपाधि लिभरपुलले जितिसकेको छ भने आर्सनल दोस्रो स्थानमा छ ।
